आमा

​तिम्रा पसिना र आँसुले सिर्जित

रगतमा चोबिएका ढुंगामाटोको घर,

अगाडीको कोठा,

त्यै सदाबहार झ्याल,

झुन्डिएको मोबाइल,

अडिएको दराज अघिल्तिर सुतिरहेको तिम्रो भण्डार खाट,

सबै यथास्थानमै थिए छन् हुनेछन् …

तर हुनेछैन् तिम्रो उपस्थिति…

तिमी छैनौ।
जुन संसार तिमीले बनायौ,

त्यै संसार शून्य लाग्नेगरि बिरानो पारेर तिमी त गइसकेथ्यौ…

कहिल्यै नफर्कने गरि।

छाडेर केवल केही असीमित यादका पोकाहरू,

मुस्काएका थोरै फोटाहरू,

नमीठो लाग्ने सम्झनाका ती मीठा पल…
म अझैं तिम्रो आगमनको प्रतीक्षा गरिरहेछु।

सुन्दरतम् पल कुरिरहेछु,

तिम्रो उज्यालो मुहार हेरेर बाँच्न खोजिरहेछु।
तर तिमी सपनाको बाटोबाट पनि नदेखिने गरि टाढिइसकेछ्यौ अनायासै…
तिम्रो नाउँ उच्चारण गरिरहें, जपिरहें कैयौंपटक 

कुरिबसें दीयो बालेर,

फेरि तिमी कहिल्यै नफर्कने गरि ईश्वरको समीपमा पुगिसकेथ्यौ…

Advertisements

असार ४

​फेरि आइपुग्यो त्यो उदासी, उजाड असार।

जसलाई बिर्सेर पनि बिर्सन सकिन्न।

न त मीठो सपनाजस्तै सम्झन सकिन्छ।

त्यो असार ४ यौटा दु:स्वप्न थियो, जे नहुनु थियो, आखिर त्यै भइदियो।

जसलाई रोक्ने, असम्भव बनाउने तागत हामीसँग थिएन्।

तर पीडा रोपी साथ राखेर विवशता थप्नुपर्ने समय सँगै भैदियो, पापी समय।

याद,

मीठा क्षण, रमाइला जिन्दगीका अतीत छाडेर बिदा भयो, त्यो दिन।
त्यसको छाप भने अनन्तकालसम्म लम्बिरहनेछ, आजीवन।

तिमी

मरुभूमिसरी मेरो जिन्दगीमा तिमी पाएर हराभरा भएँ, भन्ठान्नु मेरो जीवनको सबैभन्दा ठूलो भूल थियो।

सोच्थें, प्रेमको सच्चाई गहिराईमा हुन्छ।

तर होइन रहेछ, तालरूपी प्रेममा भावनाहरू पातसरी सतहमा बस्दा रहेछन्।

सायद, म तिम्रो जीवनमा यौटा पत्कर थिएँ, तिमी तलाउ।
भाग्य आफैं बनाउनपर्छ भन्ठान्ने म, थाहै नपाई तिमी मेरो समीपबाट टाढिनु यौटा लेखान्त मान्दोरहेछु। सायद मिलन नै लेखेको रहेनछ र त हामी दुवैको बाटो मोडिएको, फरक भएको।

तिमी आयौ र गयौ, मेरो मनमा नमीठो झंकार दिएर। तर चाहेको थिएँ, तिमी मेरो सहारा हुनेछौ, म तिम्रो जीवनको अभीन्न अङ्ग।

यस्तै अनेकन अपेक्षा लाँदिएकाले होला सायद, हाम्रो तथाकथित प्रेम आफैंमा ध्वँस्त भयो। मैले कल्पनामै “प्रेम” राखेको भए यो हुनेथिएन् होला। खेैर, उम्केको माछो ठूलो संस्कारबाट परिष्कृत म, तिमीलाई अर्को माछो बनाउन चाहन्नथें। आए आँप गए झटारो  किसिमले तिमीलाई प्रेमप्रस्ताव त राखें, तर त्यहीँ प्रेमले हामी दुवैको यात्रा फरक हुन पुग्यो, बिल्कुलै फरक।

म तिमीलाई असाध्यै माया गर्थें।

सायद मैले माया गर्न जानिनछु क्यार, तिमी त्यसलाई बढी केयर गरेको अर्थमा बुझ्थ्यौ। हामी दूरीका हिसाबले त्यति टाढा त थिएनौं तर ती प्रेमिल हुनुपर्ने रातहरू असाध्यै चिसा थिए, धेरै चिसा।

तिमीलाई भेट्न भनी हिडेको दिन, तिम्रो अस्वस्थताको कुरा सुनेर मलाई दिनभर काम गर्ने चाह थिएन। भोलिपल्ट अलिक निको भएको सुनेपछि म कति खुसी भएको थिएँ, सायद मसँग प्रकट गर्ने शब्दै थिएन।

परीक्षाको समय नजिकिँदै गर्दा हामीबीच पातलिन थालेको सन्देश आदानप्रदान म चाहेरपनि बन्द गर्न चाहन्नथें, ताकि तिम्रो दिलमा चोट लाग्ला र हाम्रो प्रेमको निर्मम अन्त्य होला भनेर।

परीक्षाको दिन सबेरै शुभकामनाको रूपमा तिम्रो फोन रिसिभ गर्न पाउँदा कत्ति खुसी थिएँ म, कैंयनचोटी त्यो मोबाइल चुमिरहें। फेसबुक खोलेर तिम्रो सारी लगाएको फोटो नियालिरहें, मनकी रानी ठानेर।

करिब महिनादिनसम्मको परीक्षाले हामीबीच धेरै माइल दूरी त कोरिसकेथ्यो, तर म इमोमा म्यासेज पठाएर त्यसलाई मेट्न चाहें। फेरि डर थियो, दशैंमा घर जाँदा नेटवर्क नटिपेर हुने सम्पर्कबिच्छेद।

नहुनु जे थियो, आखिर त्यै भइदियो।

तिमीले मैले राखेको विवाहको प्रस्ताव लत्यायौ र तथानाम गालीरूपी शब्द दियौ, जसले यो कौडीको भाउमा पनि नबिक्ने दिल दुखायो र म तिमीबाट टाढिन चाहें।

दोष मेरै थियो र भाग्यमा पनि तिम्रो साथ नजुरेको रहेछ र त एकपटक पनि नदेखी नभेटी हाम्रो प्रेम सकियो।
तिम्रो याद त पलपल आइरहन्थ्यो, किनकी हामी असाध्यै छोटो समयमै राम्रो साथी भयौं (र, प्रेमिप्रेमिका !!?? पनि)

फोटाहरू दुवैका बरोबर थिए, मैलेे तिम्रो फोटोहरू कलेक्सन गरि भिडियो बनाएर जेम्स ब्लन्टको यू आर ब्यूटिफूल गीतमार्फत इमोमा तिमीसँगै पठाइदिएँ। र, मेट्न चाहें सम्बन्धरूपी प्रमाणहरू।

तर, यो दिलमा तिम्रो मुहारको प्रतिविम्ब मेट्न सकिनँ। तिमी त यी आँखामा बसिसकेथ्यौ…