ननसेन्स लभ विथ दिव्या

मलाई थाहा थियो,
ती हावाका झोक्कासरि बहेका मायाप्रेमका भावना फगत हावाजस्तै मौसमी थिए।

image

आज पनि मौसम मनजस्तै धुम्म रह्यो।
यो चाहीं पक्कै होइन कि, मौसमलाई मनले सञ्चालन गर्छ।
बरू हुनसक्छ, करोडौं हर्षित मनहरुमा मौसमले मेरो उदासी मन देख्यो होला, र यसैलाई क्याँस गर्न सफल रह्यो होला, सायद।

नाउँ किरण भएपनि त्यो रश्मीरूपी ज्वज्वल्यमान दीप कहिल्यै अनुभव गर्न सकिनँ। यौटा क्रेटमा रहेका तीस अण्डामध्ये कुनै यौटा चुकिदा जस्तो पिडा हुन्छ,मनमा सोही असीम दु:खले बास गरिरहे अनवरत …
(आफूलाई क्रेट र प्रेमलाई अण्डाको उपमा दिदाँ अण्डाको पो बेइज्जत गरेजस्तै लाग्यो)

धेरैलाई मैले सचेत गराएँ, उमेररुपी आकर्षणले थिचेको मायाप्रेमबाट टाढै रहन।
तर आफैलाई रोक्न भने सकिनँ।

के त्यो माया थियो ??

दिव्याले सुरुमा सम्झाएकी थिई, हामी प्रेम नगरौं, राम्रो साथीमात्र बनम् भनेर।
फेरि अवचेतन मनमा कुनदिन उसले प्रेमको प्रस्ताव राखी, र मैले दार्शनिक पारामा सुकरातले हेमलक पिएझैं उसको प्रेमप्याला कहिले पिएँ ??? अनभिज्ञ छु।

साच्चिकैं म मायामा फसेथें ??

सायद, समयले त्यसको जवाफ दिनेछ।

दिव्या त्यो पर… देखिने क्षितिजलाई देखाउँदै “संसार त्यहीँसम्म हो। त्यहाँबाट अर्को संसार देखिन्छ…” भन्थी।
म भने देखिने अद्भुत क्षितिजलाई छाडेर दिव्यालाई हेरिबस्थें।

फेरि धेरैबेर सोचें,
के त्यो माया थियो ??

माया, संसारको तेस्रो सत्य।
पहिलो जन्म र दोस्रो मृत्यु हो भने, माया त्यसपछि।

सामाजिक सञ्जालमार्फत व्यक्त शब्दमा तौल खोजेर माया माया भन्नु मूर्खताको चरम सीमा थियो होला।
कति रात अनिदो रहें, कैयन महत्त्वपूर्ण समयका नेटोहरू कटाइदिएँ माया माया भनेर…

अनि निष्कर्षें, म साच्चिकै भ्रममा थिएँ।

देखेथें उनलाई कतैतिर, आइन् दैलो ढकढक्याउदै,
लगाइनँ दैलो, जिन्दगीको।
सायद, त्यै मेरो सबैभन्दा ठूलो भूल थियो।

भूल्नु फूल्नु र हराउनु सायद यौटै हो, जिन्दगीमा।
शाब्दिक अर्थबाहेक यिनमा क्यै फरक भेटिनँ।

प्रत्येकका जीवनरुपी भोगाइ फरक तथा पृथक हुन्छन्।
मेरापनि धेरै भोगाइहरु आममान्छेभन्दा फरक रहे।
नितान्त व्यक्तिगत आयामहरू जिन्दगीमा ठूलो प्रेरणा पनि बन्न खोज्दारहेछन्।
ट्याँग पनि बन्दा रै’छन्।
भलै सफल असफल त आइहाल्छ।

“मानिस उमेरमा कवि,कम्युनिस्ट र प्रेमी हुन्छ” भनेर कसैले दर्शन छाटेंथे, आज आएर उक्त महानुभावलाई हृदयदेखि साधुवाद दिन मन लाग्यो।

फेरि म पृथक थिइनँ प्रेमको मामिलामा 😉

मनैदेखि ओकल्न मन लाग्यो, गुम्सिएका पिल्सिएका र उसिनिएका मनका भावहरु।
फेरि सोचें, छाडिएको र त्यागिएको व्यक्ति किन बारम्बार सम्झनामा ल्याउनु !!

यो सत्य थियो, प्रेम पिडादायी हुन्छ र भयो।
यहाँभन्दा बढि अझै आफूलाई पिरोल्न चाहन्थिनँ म।
र कोरें शब्द।

हिजो आफ्नै भन्थ्यौ, आज टाढिन रै’छ।
डियर र मायालु भन्थ्यौ, आज नचिन्न रै’छ।
प्रेमालाप गरौं भन्थ्यौ, परदेशी ठान्न रै’छ।
सम्झिरहन्छु भन्थ्यौ, आज बिर्सन रै’छ।

दिलमा छिर्न मन थियो, ढोका बन्द रै’छ।
मनैदेखि कुरिबसें, बिर्को लाग्या रै’छ।
माया लाग्यो उनको, बाटो अर्कै रै’छ।
मुटु दुख्यो मेरो, धोका खान रै’छ।

(खासमा, म मिस्टर बिनको फ्यान भएको नाताले यो कविताको शीर्षक “रै’छ” हुनुपर्थ्यो। तर अब प्रेममा फसेपछि अलिकति गम्भीर हुन जानिँदो रैछ…)

फेरि छाडिजाने निष्ठुरीको याद आयो …

सायद यो मनले गरेको चोखो एवं निश्छल माया त्यो मनमा थिएन।
फगत आकर्षणले थिचिएको जबर्जस्त सम्बन्धको अन्त्य यस्तै पिडादायी हुनुपर्थ्यो र भयो।

र,
आफूले भोगेको त्यो मायालाई ननसेन्स लभ को संज्ञा दिन मन लाग्यो।

र,
जे माध्यमबाट माया बसेजस्तो भएथ्यो, त्यसलाई अनस्टल गरें, अनि लामो श्वास फेरें।

फेरि,
बिर्सिएका खुसीलाई ओठमा सजाउनु त छदैथ्यो।

पुरानै दैनिकीमा फर्कन….

(दिव्यालाई सम्बोधन गरेर कोरिएका भावुक प्रेमपत्रको बदला उनको तिरस्काररुप शब्दवाणले घायल यो मुटुलाई यी शब्द बुनेर मल्हम लगाउन चाहें। ख्वै, म कत्तिको सफल भएँ वा मायाजस्तै असफल बनें, प्रतीक्षामा कुरिरहेछु …)

मेरो भन्नु
प्रस्तुत शब्दरुपी भावहरू मेरा मगजका कल्पनामात्रै हुन्।
कसैसँग मेल खान गएमा मलाई माथिल्ला दाँतका पङ्तिले तल्लो ओठलाई टोक्दै बाङ्गो हाँसो हाँस्ने वातावरण सिर्जना हुनेछ।
उसैगरि, जसरी दिव्या मुस्काउथी, र म त्यो मुस्कानमा डुब्थें, हराउँथें…

Posted from WordPress for Android

Advertisements