हो हजुर, म लाटो !!

हो हजुर,
म लाटो हुँ,
असाध्यै लाटो !!
र त,
मलाई क्यै थाहा छैन्।
थाहा नभएरै त म लाटो हुँ।
हो,
संसार विज्ञानलाई परिक्षण गर्दै रमाउँछ।
तर म आफैंमा रमाउँछु।
आफैंमा हराउँछु।

थाहा छैन् मलाई
दुनियाँका उत्कृष्ट कामहरू,
उत्कृष्ट रचनाहरू,
उत्तम र बौद्धिक सिर्जनाहरु,
प्रेरणादायी भनाइहरू,
जिन्दगी हाँक्ने गौरवशाली क्षणहरू।

बस,
मलाई यति थाहा छ,
म आफ्नो नाउँ जान्दछु !!
आफ्नो उमेर,वजन र वतन जान्दछु !!
आफ्नोबाहेक अरू केही जान्दिनँ।

केही थाहा छैन् हजुर,
त्यसैले हजुर,
म लाटो हुँ।
साच्चिकै लाटो !!

म लाटो भएरै अज्ञानी छु।
अज्ञानी भएरै लाटो छु।

मेरा माइनस दुई डायोप्टरका
आँखाले निष्पट अँध्यारो,
निर्जन जीवन,
अनकन्टार जिन्दगीबाहेक
अरू क्यै देख्दैनन्।
न त महसुस गर्छन्
चिसो-तातो,
दया-माया-सद्भाव-प्रेम,
घृणा-रीस-द्वेष-विभेद।
क्यै जान्दिनँ म,
किनकी म लाटो हुँ।
लाटो छु

असाध्यै अज्ञानी पनि।

मलाई न त इतिहास थाहा छ,
ती विजेताको गौरवगाथा,
हारेकाको शर्मनाक क्षण,
आँसुलाई हाँसोले जितेको,
दु:ख हारेको सुखसँग,
दानवीय गुणलाई दैविक शक्तिले परास्त गरेको (??)
….
यस्तै यस्तै।

इतिहास पढ्दा मलाई पिडा हुन्छ,
हारेकाको आँसुले पिरोल्छ।
म छिचोल्नै सक्दिनँ ती पानाहरू।
हारेकाहरू
पराजितहरू
मसँग गुनासो गरेजस्तो लाग्छ।

त्यसैले म इतिहास जान्दिनँ।
किनकी म लाटो हुँ।

न मलाई कोर्सिकाका बोनापार्टले
फ्रान्स र युरोप जितेको थाहा छ,
न त मभन्दा ठ्याक्कै १०४ वर्ष जेठो
जर्मन एडोल्फ हिटलरले फ्रान्सलाई निलेको,
दोस्रो विश्वयुद्ध निम्त्याएको थाहा छ।
न गान्धीको शान्ति र सत्याग्रह थाहा छ,
न त बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको थाहा छ,
न मलाई बहादुर शाहको नायबी थाहा छ,
न त भीमसेन थापाको सुगौली सन्धि
र ती जोर टावरहरू (=धरहरा)
सुन्धारा थाहा छ !!
धरहरा र सुन्धारा नदेखेको+ नसुनेको मान्छे म !!.
ती १०४ वर्षे राणाकाल,
जंगबहादुर कुँवरलाई जान्दिनँ।
न त
जान्दछु एक्काइसौं शताब्दीको सबैभन्दा रक्तपातयुक्त राजदरबार हत्याकाण्ड,
जेठ १९,२०५८

न त म गणतन्त्र बुझ्दछु
न देशलाई प्लेटमा पाउरोटी बनाएर टुक्राटुक्रा बनाएको बुझ्दछु।
न म संघीयता बुझ्दछु
न त जातियता,
अखण्ड/खण्ड,
यथास्थितिवादी/दक्षिणपन्थी/उग्र/मण्डले/मसाले…..

त्यसैले हजुर,
म लाटो छु।
असाध्यै लाटो !!!

म दु:खमा आँसु झार्न जान्दिनँ,
न खुसीमा हाँस्न र रमाउन।
न भीडमा दौडिन र टाउको जोगाउन जान्दछु।

सेवा – धर्म – सत्कार क्यै जान्दिनँ।


यति जान्दछु
“म मान्छे हुँ”
बस, यति जान्दछु।
किनकी म लाटो हुँ।

हो हजुर,
म कालोलाई सेतो देख्दिनँ,
न सेतोलाई कालो।

म छेपारोले रङ्ग फेरेझैं
वा सर्पले काँचुली फेरेझैं
बदलिन सक्दिनँ।

प्रशंसालाई कुटिल रुपमा नदेखेरै होला,
उनिहरू फिस्स हाँस्छन्
मलाई देखेर।
सम्झेर,
बुझेर,
जानेर,
” ओई लाटो !!”

“लाटो”

Advertisements