भाव – २

भुल्न नसक्ने ती तीन दशैं

१.वि.सं. २०७५ सालको दशैं

लगातार तीन वर्ष बाहिरै बसेकाले यसपालिको दशैंमा म अगाडिबाटै बिदा लिएर घर गएको थिएँ। बुढीगण्डकी जलविद्युत् आयोजनामा काम गर्दा विगत तीन वर्ष परिवारलाई मिस गर्दै खल्लो पारामा दशैं मनाउनुपरेको मेरो पीडा आयोजना प्रमुखको डेकमा पुग्नासाथ मीनपचासे विदाजस्तै गरि स्वीकृत भइदियो। घटस्थापनाका दिन घर पुगेको म,केही दिन गाउँ चाहर्नमै व्यस्त भएँ।
फूलपातीको अघिल्लो दिन पिङ हालेर रमाइलो साटासाट गर्दै,सँगै पढेका साथीभाइ भेटेर ‘नोस्टाल्जिक फिल’ गरिदैँ थियो।
अष्टमीको दुर्गापूजा होस् वा नवमीमा देवीपूजा।
धुमधामले मनाइयो,दशैंलाई।
विजयादशमी मेरालागि जहिल्यै उत्सव बोकेर आउँछ,दहीको घडादेखि जमरा,टीका र पैसा। अनि कहिल्यै नरित्तिने आशिष।
तर,बच्चैदेखि गफाडी र चञ्चले भएर होला,मलाई अरूलाई गफ लडाउनमा ठूलो शोख छ। धीत मरुञ्जेल गफ जोत्यो,हाँस्यो,बस्यो। अरूहरू तास खेलेर रमाउँदा म गफ जोतेर रमाउँथें।
र,यसपालि अपवाद थिएन्।
हजुरबुबा हजुरआमा अनि आमाबुवाको हातबाट टीका जमरा थाप्ने आफन्तलाई मीठो मिष्ठान्न बाड्दै हसाउँदै बित्यो।
त्यसपछि आमाबुवा मावला प्रस्थान गर्नुभयो, दाजुभाउजु ससुराली।
बेलुकी दिदीबहिनी आउने भएकाले म चाहीँ घरमै बसें।
करिब तीन बजेतिर हजुरबुबा हजुरआमालाई खाजा खुवाइवरी घरको बुहारी-धन्दा सकेर चपलीबाट पर पिङमा हेर्दै गर्दा यौटा परिचित लाग्ने अनुहार झर्दै थियो,हल्का मुस्कानका साथ,हाम्रै घरतिर।
नजिकै आइ जुम्ल्याहा दुई हातले ‘नमस्कार दाइ’ भन्दा झसङ्ग भइयो।
नमस्कार फर्काइवरी भलाकुसारी सोध्ने काम भयो।
उनको साथै रहेको सानो तीन वर्षे बाबुले ‘मामा नमस्ते’ भनेर तोतेबोलीले मीठास भर्ने काम गरे।
त्यसपछि क्षणिक कुराकानी,टिका-प्रसाद र हल्का खाजापछि ती दुई आमाछोरा पारीको गाउँतिर जान हिडे।
मेरा आँखाले पछ्याइरहे,ती क्षितिजले ओझेल नपरुञ्जेल।
अनि म गम्भीरतापूर्वक विगतमा फर्कदै थिएँ,बिजुलीको झिल्कासरी यादहरू मनमा मुटुले कोर्दै…

२. वि.सं. २०७१ सालको दशैं

स्नातक तेस्रो वर्षको परीक्षा सकेर म घर गएथें,दशैं मनाउन।
बीस वर्ष पार गरेपनि जिस्किन र जोक हान्न छोड्याँ थिइनँ,अर्थात् म गम्भीर थिइनँ, न जीवनप्रति,न अरुप्रति,न आफैंप्रति।
यस्तो मेरो व्यवहार अरूलाई मन नपरेपनि मेरो हजुरबुवालाई मन पर्दोरहेछ।
हजुरबुबाले आफ्नो जिउनी खेतमा मलाई धान बिटा लगाउन लैजानुभयो।
त्यहीँ उहीँ डिम्पलवालीको चर्चा पहिलोपटक सुनियो।
खासमा,
म खासै बाठो थिइनँ र छैन्।
अरूले बदोख्वाँइ गरेको, ‘ब्याक बाइटिङ’ गरेको पत्तै पाउन्न।
उहीँ डिम्पलवाली मुस्कानसित अनायासै नाउँ,जीवन र भविष्य जोडेर यौटा माहोल खडा भयो,जुन न मैले होइन भन्दा फुट्थ्यो,न उनले ‘अहँ’ भन्दा टुट्थ्यो।
बेलुका घर फर्केपछि भान्सा उहीँ कुराले मसलेदार थियो।
हजुरबुवा र आमाबुवाको जिज्ञासा मैले रिमोटको म्युट भोल्युमजस्तै चुप भएर टाउको हल्लाउँदै “अहँ” भनेर दिएँ।
कुनैबेला स्थिति र परिस्थितिजन्य परिवेश यथार्थलाई सपनामा परिणत गर्न सफल हुन्छन्।
मैले पनि त्यति यथार्थ स्विकार्दै सुतें,सिरकरुपी स्थिति अँगाल्दै।

आफूले चाहेको वा आफ्नो पोजिसन माथि रहेको भए त्यो गाउँकै सबसे सुन्दरी डिम्पलवाली,सायद हाम्रो घरमा
कान्छी बुहारी बन्ने थिइन्।
तर उक्त बेला मसँग न व्यापार थियो,न जागिर थियो।
थियो त बुवाको सम्पत्ति।
जसलाई मैले आफ्नो ठान्न कदापि सकिनँ।

त्यसरी,
पहिलो प्रेमअगावै विवाहको प्रस्ताव टारियो।

र,
चारवर्षे अवधिमा उनको सुन्दरतामा लेस कमि नआउँनु अर्को ईर्ष्यालाग्दो क्षण थियो।

के म रुपको पछि दौडियाथें??
सायद,हो।
गुणभन्दा रुप अनि आफ्नोमात्रै सबै राम्रो भन्ने चश्मा मैले पहिरेथें।

अहिले आएर त्यस्तै लाग्यो,मेरा विगत र मेरो मनोस्थिति।

३. वि.सं.२०७९ सालको दशैं

यो दशैंले ममा आमूल परिवर्तन ल्याइदियो।
चञ्चले म,डिम्पलवालीको इर्ष्याले गम्भीर बन्दो थिएँ।
खानपिन र गफ अनि भेटघाट मेरालागि खासै चासोका विषय थिएनन् कम्तीमा अब।
चारवर्षअघि उसलाई भेटेपछि पछिल्ला चारवर्ष मेरा मन बेचैन हुँदै उडिरहे।

अबचैं लगन र बिहेप्रस्ताव मेरा काबुमा थिएनन्।
यौटा राम्रो घरबाट प्रस्ताव आउँनेवाला रहेछ।
मैल आठवर्षअघि यौटा भाव लेखेथें,कसैप्रति समर्पित।
उसैलाई सम्झेँ,बेलुकी फेसबुकमा हाईहेल्लो गर्दै म्यासेज पठाएँ,
सम्भवतः यो फेसबुकको च्याट,मैले सातवर्षपछि पहिलोपटक कसैलाई सम्झेर पठाएँ।
सम्बन्ध र आदरको औपचारिकता पूरा गरेपछि उनलाई सोधेँ,थ्री इडियट्सको फुङसुक वाङ्डु स्टाईलमा, ‘बिहे गर्यौ ?’
जबाफ, ‘लगभग’
“भन्नाले ??’
‘यौटा प्रेमकुमार थियो,मनचोर,उसैलाई सम्झेर कुरिरहें,तर बिहे चैं गरिहालेको छैन्।’
म : ‘कहिले गर्ने त ?’
ऊ : ‘उसले जहिले प्रस्ताव गर्छ।’
म : ‘को हो ऊ? म प्रस्ताव पठाउन लगाइदिम्ला।’
ऊ : ‘आठवर्षपछि बल्ल सम्झेको यौटा निष्ठुरी छ।मेरो कलेजको सिनियर।’
म : ‘त्यो कतै मैं त होइन?’
ऊ : ‘लगभग’

त्यसपछि करियर आआफ्नै भएका दुई दन्त्यकथाका प्रेमीबीच वि.सं.२०७९ मंसिर २२ गते दुवै परिवारको सहमतिमा विवाह भयो।

फिल्मी कथाजस्तो लाग्ने यी कथा मेरो अनन्य मित्र किरणले मलाई भनिरहँदा पुराना कुनै हिन्दी कथानक चलचित्र हेरेजस्तो लागिरह्यो।

तर,
किरणले डिम्पलवालीलाई बिहेपछि पनि किन ईर्ष्या गरिरह्यो,
र कलेजकी जुनियरलाई विगत सात वर्ष किन बेवास्ता गरेछ??
मैले बुझ्नै सकिनँ।
सायद,उ पूर्णरूपमा खुलेन।

***

(प्रस्तुत शब्दहरू मेरा मनको कल्पनाका उपज हुन्।
कसैसँग मेल खान गएमा मीठो संयोगमात्र हुनेछ।)

स्पन्दन र ऊ अनि म

मनभित्र लुकेर बसेका मुटुका स्पन्दनले थाहै नपाई आकार लिदाँ रहेछन्।
थाहा छैन्
ती ठोसरुपी माया बन्ने हुन् यौटा आकार दिएर,जिन्दगीको।
वा हावाको झोक्कासरी उड्दै जाने हुन्।

तर,
आशा छ,प्रयास सफल हुनेछ।

उनलाई देख्नु,देखेर नदेखेझैं गर्नु वा लुकीलुकी त्यो लजालु अधरमा हेर्नू ….

सायद,
मेरी प्रियसी,
नदेखेको भए हुन्थ्यो तिमीलाई …
यो मुटु असाध्यै धड्किन्छ,तन छट्पटिन्छ,मन अतालिन्छ, केवल तिम्रो साथको लागि।

र,
म,
तिम्रै लागि बाँचिरहेको छु।

कहिलेकाहीँ त लाग्छ,जिन्दगी भुलैभुलको अर्को नाउँ हो।
र तिमीलाई देख्नु,मनमा प्रेम अंकुरित गर्नु वा मायारुपी जिन्दगीमा अँगालिनु …

तर,
म प्रेममा गल्ती गरूलाँ।
भुलभुलैयाम राखौंला।

तर मायाको बहार ल्याउने प्रयास गर्नेछु।

आशा छ,सफल पनि हुनेछु।

किनकी,
मलाई तिम्रा आँखाले पछ्याउँदै जानेछन्।
परेलीले मुटु लुकाइराख्नेछन्।

वश,
तिम्रै निम्ति …