सपनाको किनबेच

यात्रु भरिने आसमा
हिउँदे चिसो वायु
अनि
सिरेटोको
वास्ता नगरि
सानेपाबाट रत्नपार्क गुड्ने
टेम्पोको चालकलाई सोध,
प्रतीक्षा,
समय
अनि
न्यानोको परिभाषा।

अथवा,
काठमाडौंका महँगा लजमा
पैसा तिर्न नसकेर,
महँगो डेराभाडाको त्रासले,
अनि
चर्को महँगीले
जीवनयापनमा डर मानेर,
ठन्डी रातलाई
पिपलमूनि
रिक्सामा कटाउने
रिक्साचालकलाई सोध,
रात कति लामो छ?
बाहिरको तापक्रम कति छ?

अथवा,
थाप्लोमा आफूभन्दा चारगुणा बढी
भारी खेपेर,
हत्केलामा ठेला उठाई
ठेलागाडाबाट जीवन गुजार्ने,
चप्पल लगाएर धाँजा फाटेको खुट्टाले देश डुल्ने,
ती मेरा काकाहरूलाई सोध,
जिउ नतातिएपछि
पिइने सस्तो लोकल रक्सीको इज्जत,
जाडो अनि थकान दुर पार्ने
अचुक ओखती,
जसले पन्ध्र रुपैयाँ कप चिया बिर्साइदिन्छ,
अनि सोध,
भोड्का र रम भनेका कुन देशका चरा हुन्?

अथवा,
रातको निद्रा मारेर
ट्याक्सीरुपी चारपाङ्ग्रे घरको बिसौनीमा
यात्रु कुर्दै बस्ने
ती मेरा दाजुलाई सोध,
महत्त्व,
पैसाको,
मिटरको,
ट्राफिकको,
धनीको,
पर्यटकको,
अनि
आफ्नै जिन्दगीको।

अथवा,
यी छुद्र दृश्यबाट तिमी बाहिरिन सक्छौ।
यस्तालाई बहिष्कार गर्न सक्छौ।
छि:छि: दुर:दुर: गर्न सक्छौ।
‘मलाई वास्ता छैन्’ भन्न सक्छौ।
तर,
जुन दिन,
मुम्बईका सुकुम्बासी बस्तीमा
ड्यानी बोयलहरू पसेर
गगनचुम्बी भवनले थिचेका
गरीबका कथा ‘स्लमडग मिलेनियर’मा स्केच गरेजस्तै,
काठमाडौंका अव्यवस्थित हाउजिङमूनि
पाल टाँगेर
आफ्नो संसार बसाउने
मेरा आफन्तहरूका कथा,
उनिहरुका सपना,
उनिहरूको संसारका इतिहास,
मैले बेच्नेछु,
रचेर,
महँगोमा,
बिदेशीलाई।

त्यसबेला,
तिम्रा दुई नयनबाट
दुई थोपा मोतीदाना
तप्प तप्प चुहिनेछ।
तिमी विगतमा
आफ्नो बेवास्ताप्रति पश्चाताप गर्दै हुनेछौ।
आफूलाई धिक्कार्दै।
तर,
मलाई हाँसो लाग्नेछ,
तिमीदेखि।
अनि
म खित्का छोडेर हाँस्दै हुनेछु
तिमीलाई गिज्याउदै,
महँगो कोटभित्र हात राखेर।
दुवै हात बाँधेर।
वस,
चुपचाप भावले,
भित्र खुसी हुँदै।

ओठले दाँतबाट निस्कन खोजेको हाँसो नियन्त्रण गर्दै।

प्यारो आदरणीय दाजु,
साष्ट्रङ्ग दण्डवत्।

ख्वै कहाँबाट सुरु गरूँ?
सर्वप्रथम म माफी चाहन्छु,मेरा कारणले हजुरले अनावश्यक झमेला र तनाव पाउनुभएकाले।
हुन त म माफीको लायक पनि छुइनँ,तैपनि माग्ने साहस जुटाएँ,आशा छ माफी पाउँनेछु।
जीवनका दुई दशक ‘क्लिनचिट’ थिएँ।किनकी,मेरो जीवनमा आकर्षणरुपी मायाको प्रवेश भएन्।
तर,शताब्दीजत्तिकै वर्षमा पुगेपछि एकपछि अर्को मायारुप लर्को लाएर आए,मलाई अहिले सम्झिल्याउँदा आश्चर्य,भ्रम र अपसोच एकैचोटि हुन्छ।
भदौमा ट्विटरबाट तीन केटीबाट सुरु भएको यो लीला त्यहाँ गएर ठोक्कियो,जसले मायारूपी जालमा फस्नेलाई मात्र होइन,देख्नेसुन्नेलाई दु:ख दियो।
मायाले त शीतलता दिन्छ
खुसीका लहर ल्याउछ।
तर यहाँ त !!
त्यसैले त्यो माया थिएन् होइन् र कदापि हुनेछैन्।
साइबरकृत अक्षरकै कारण चिन्ता लिनु जरुरी छ,जस्तो मलाई लाग्दैन्।
जसले आफ्नो टाउको दुखाएर गुनासो गर्यो,उसबारे मैले हजुरलाई जगजाहेर गर्नुपर्छ,जस्तो मलाई लाग्दैन्।
जीवनमा ढिलोचाडों सम्पति सबले जोडिहाल्छन् नि,अहिले नै मात्तिने र आत्तिने पो गर्नुहुन्न त। उनका बाबुले हाम्रा बुबाहजुरलाई जसरी सताएका थिए,छन्।
उस्तै प्रकारले उनले हजुरलाई तड्पाउने प्रयास (वा दुष्प्रयास) गरे।उनले मसँग बात गर्न सक्थे,तर गरेनन्।
किन?
‘कुरा खस्रा मीठा,रोटी चिल्ला मीठा’ गर्नुपर्छ र लोलोपोतो गर्नुहुन्न।उनले हजुरलाई गलाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेपनि त्यो दिवास्वप्न मात्र हो।
प्रभातको त्यो कुराले मन र माथिङ्गल हल्का हल्लाइरह्यो।तर,म पहिलेजत्तिकै रिल्याक्स छु।
मैले फेसबुक डियाक्टिभेट गर्न चाहें अनि उनिहरूलाई ब्लक गर्न। तर गरिनँ,यसो गर्दा म महाकायर र महाडरपोक देखिनसक्थें।
म उनिहरूसँग मात्र होइन,जिन्दगीका हर पहाडरूपी अवरोधसँग लडपन चाहन्छु,भिड्न चाहन्छु,जुध्न चाहन्छु।
सगरमाथाको चुचुरोलाई लक्ष्य बनाएर हिड्ने मान्छे,नाम्चेबजारको रमाइलोमा हरायो भने, सपनाको कुरूप समाधिबाहेक अर्को हुनैसक्दैन्।॥

त्यसैले,म मायामा फस्दिनँ,फस्ने छुइनँ।
मलाई पनि थाहा छ,
आफूप्रति,परिवारप्रति र समाज अनि देशप्रति मेरा जिम्मेवारीहरू।
र,
अब एकलव्यको तिरजस्तै जीवनका लक्ष्यप्रति मात्र ‘टार्गेटेड’ हुनेछु।
वस !!

-उही
दु:खको अर्को नाम
“अज्ञात शत्रु”

मुटुको प्रस्ताव

हिजो टुक्रिएको थियो मुटु
छुट्टिएको थियो,
बिछोडमा रुमल्लिएको थियो।
स्पर्श थियो धड्कन थिएन्।
तर,
आज
मुटु छातीभित्र छ
धड्किदै छ धीमा गतिमा,

छ राजी,
मायालाई सुम्पन।
बश,
प्रश्नका तिर तिमीतिरै सोझिन थाल्यो,
‘के तिमी यो मुटुलाई स्विकार्छ्यौ ?’